Logo

पोखरा विमान दुर्घटना :थप एकजनाको शव भेटियो

आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एकजनाको शव भेटिएको छ। सोमबार दिउँसो सेती खोंचमा थप एकजनाको शव भेटिएको काश्की प्रहरीले जनाएको छ। योसहित ६९ जनाको शव फेला परेको हो। ३ जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य जारी छ।

अस्पतालमा पुर्‍याइएका शवमध्ये ३८ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। शवको पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पहिचान खुलेका र नखुलेका शवहरुको छुट्टाछुट्टै गरी राखिनेछ। त्यसपछि पहिचान खुलेका शवहरुको पुष्टि गर्न प्रत्येक शवको दुईजनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति प्रदान गरिने प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिएका छन्।

यस्तै शवको क्रमसंख्याअनुसार पहिचान भएका शवहरुको परीक्षण गरिनेछ र पुन: पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिनेछ। चालक दलका सदस्यहरु,विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरु पहिचान परीक्षणको लागि काठमाडौं पठाइने प्रतिष्ठानले जनाएको छ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए।

प्रतिक्रिया दिनुहोस्