Logo

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् ।
तस्बिर

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्‍यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई जेष्ठ्य सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

२०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसदमा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसददेखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्‌मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्