Logo

चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सकियो

भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सकिएको छ ।

हाल भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको उनीसँगै गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् । उपचारमा संलग्न डा. मुकेश मिश्राले बिहान साढे ९ बजे गरेको काउन्सिलिङ अनुसार भण्डारीलाई साढे १० बजे पहिलो शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको थियो । उमेरका कारण उक्त शल्यक्रियाको जोखिम ४८ घण्टासम्म रहने बताउँदै मिश्राले अहिले शारीरिक पारामिटर सबै सामान्य रहेका जानकारी दिएको कँडेलले बताएका छन् ।

पहिलो शल्यक्रिया सकेर दिउँसोदेखि भण्डारीको दोस्रो शल्यक्रियाको तयारी भइरहेको छ । उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको डाक्टरलाई उद्धृत गर्दै कँडेलले बताएका छन् ।

बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्