Logo

रोहितको ब्याटिङ र सन्दीपको बलिङमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

यसअघि ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन र सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।

तर नवौं विकेटका लागि रोहित र करणले अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले रोमाञ्चक जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्