Logo

यस्तो लेखिएको छ पशुपतिको सुनको जलहरीमा

काठमाडौं, १२ असार । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण अहिले सर्वाधिक चासो र आलोचनाको विषय बनेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको तथ्य महालेखाको प्रतिवेदनमा बाहिरिएपछि र संसद्मा सांसदहरुले यस विषयलाई प्राथमिकताको साथ उठाएपछि यो उक्त प्रकरण छानविनका लागि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छानविन प्रक्रिया अगाडि बढायो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र अख्यिारको टोलीले नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग लगायतका प्रतिनिधि राखेर जलहरी प्रकरण छानविन गरेको थियो । छानविनका क्रममा सुनको पत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको नाम भेटिएपछि विषय थप आलोचित भएको छ । उक्त सुनको पत्रमा यस्तो लेखिएको छः

ॐ पशुपतये नमः
श्रीपशुपतिनाथको पीठिकामा अघि राखिएको तामाको कवच माथि तात्कालिक राजा रणबहादुर शाहले मिति १८३८ माघ शुक्ल श्रीपञ्चमीका दिनमा र पुनः राजा महेन्द्र वीर विक्रम शाहले वि.सं. २०२४ साल माघ २० गते शनिवार शुक्ल पञ्चमीका दिनमा चाँदीका दुईवटा पीठिका कवच राखेकोमा ती दुवै जीर्ण भएकोले शास्त्रीय विधान, जनचाहना र परम्परादेखि चलेको चलनअनुसार देवाधिदेव श्रीपशुपतिनाथका दुवै रजत पीठिकाको जीर्णोद्वार गरी उक्त रजत पीठिका माथि १०८ किलोग्रामको सुवर्ण पीठिका श्रीपशुपतिनाथ प्रीति गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सभक्ति समपर्ण गर्ने कार्य भयो । यस पुनीत कार्यको मूलकर्ताका रूपमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू रहनुभयो । त्यस्तैगरी कर्ता र साक्षीका रूपमा संस्कृति मन्त्री श्री भानुभक्त ढकाल, श्रीपशुपतिनाथ मन्दिरका मूलपूजारी थी गणेश भट्ट संस्कृति सचिव श्री यादवप्रसाद कोइराला पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव श्री डा. प्रदीप ढकाल, कोषाध्यक्ष श्री डा.मिलन कुमार थापा र पुरातत्व विभागका महानिर्देशक श्री दामोदर गौतम रहनुभयो ।
विक्रम संवत २०७७ साल फागुन १२ गते रोज शुभम् ।

प्रतिक्रिया दिनुहोस्