Logo

राष्ट्रिय वाणिज्य बैंकको नक्सालस्थित् एक्सटेन्सन काउन्टर उद्‍घाटन

काठमाडौं, १२ असार । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। उनले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारी समेत लिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बिमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताए।

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो ग्राहक समूहमा नेपाल प्रहरी सूचिकृत हुनु खुशीको विषय भएको चर्चा गर्दै उनले देशभरका कुल ९५ हजारभन्दा बढी नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सदस्यहरूले बैंकको सञ्जालमा आवद्ध भई सबै जिल्लाहरूबाट सेवा प्राप्त गरिरहेको बताए।

बैंकसँगको समझदारीले नेपाल प्रहरीका सकल दर्जाको वित्तिय साक्षरता प्रवर्द्धन गर्न एवम् बचतलाई प्रोत्साहन गर्न उल्लेख्य सहयोग प्राप्त भएको उनले चर्चा गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताए। दुवै पक्षबीचको सम्बन्धलाई सुदृढ गरी अझ गतिशिलताका साथ अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे।

राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृत एवम् बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्