Logo

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ बिचौलिया बनेर २९ रोपनी जग्गा हडपेको प्रहरी दाबी

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।


सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्।

‘मीनबहादुरले २९ रोपनी जागा हडपेको खुल्छ,’ बज्राचार्यले भनिन्। गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा कारबाही अगाडि बढ्ने उनले बताइन्l

प्रहरीले ललिता निवास प्रकरणमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। जसमा तीन जना छुटेका छन् भने भाटभटेनीका सञ्चालक गुरुङसहित अरु ४ जना प्रहरी नियन्त्रणमै छन्। ललिता निवास किर्तेमा कसको भूमिका के भन्ने विषयमा सीआइबीले बुधबार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

‘मीनबहादुर गुरुङले व्यवसायी, आफू र आफ्ना परिवारसमेतका नाममा जग्गा ल्याएर सरकारी जग्गा आफ्नो बनाउने कार्यमा बिचौलियाको भूमिका निर्वाह गरी प्रत्यक्ष लाभसमेत लिएको, हाल निज मीनबहादुर गुरुङ र निजको परिवार तथा निजको सेयर रहेको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालि समेतको नाममा करिब ३० रोपनी जग्गा कायम रहेको,’ पत्रकार सम्मेलनमा प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

अरुको भूमिका के?

पूर्व आयुक्त सुधीर शाहले जग्गा श्रीमतीको नाममा पारेको खुलेको छ।

‘तत्कालीन मालपोत कार्यालय भक्तपुरमा मालपोत अधिकृतको रुपमा कार्यरत रहेर सरकारी जग्गामा सुवर्ण शमशेर जबरा, कञ्चन शम्शेर जबराका हकवालाहरू सुनीती शमशेर जबरा, शैलजा राणा, हेमन शम्शेर जबरा, हाटक शमशेर जबराको नाममा अनधिकृत रुपमा ना.सा. दा.खा. गरी गराई सो बापत सोहीमध्येको जग्गा आफ्ना नातेदार उर्मिला शाहको नाममा हालैदेखिको बकसपत्रको लिखत पारित गर्ने गराउने कार्य गरेको,’ प्रहरीको प्रेस नोटमा भनिएको छ।

त्यसैगरी तत्कालीन खरिदार गोपाल कार्कीले बालुवाटारस्थित ललिता निवास जग्गाको दुईवटा मिसिल नै गायब पारेको देखिन्छ।

‘तत्कालीन खरिदार सरकारी जग्गा व्यक्तको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०१४ र १०२५ नं को मिसिल गायब पारेको,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमले भने किर्ते गरी विभिन्न व्यक्तिको नाममा जग्गा नामसारी गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्