Logo

ललिता निवास प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरूको सूची ओपन–सेक्रेट नै छ : सीआईबी प्रमुख

काठमाडौं, १४ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताएकी छन् ।
‘शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता निवासको जग्गा पाउन र दिलाउन मुख्य भूमिका रहेका व्यक्तिहरुको नाम आइसकेकाले त्यो ओपन–सेक्रेट नै छ । पक्राउ परेका व्यक्तिको बयान, प्राप्त प्रमाण र अपराधको भारका आधारमा थप व्यक्तिहरु अनुसन्धानको दायरामा पर्छन् । तर अहिले नै हामीले ककसलाई पक्राउ गर्छौं भनेर सार्वजनिक गर्नु उचित हुँदैन । हामी व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा सीआईबीको अनुसन्धान फराकिलो भएको हो भन्ने प्रश्नमा एआईजी वज्राचार्यले आफूहरु सरकारी संस्थाहरुको तुलना गर्ने पक्षमा नरहेको औंल्याइन् । उनले भनिन्, ‘अख्तियारले आफ्नै किसिमले ललिता निवासको जग्गामा भएको भ्रष्टाचारले मुद्दा अघि बढाएको छ । तर हामी सरकारी छाप र दस्तखत कीर्तेमा फोकस छौं । त्यो फौजदारी अपराध अन्तर्गत पर्ने भएकाले हामीले कारबाही गर्ने प्रकृति फरक हुन्छ ।’

ललिता निवासको १४३ रोपनी जग्गा फिर्ता गरी दोषीलाई कारबाही गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास पनि एआईजी वज्राचार्यको छ । उनले थपिन्, ‘ललिता निवासको १४३ रोपनी जग्गा नेपाल सरकारको हो । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको हो । त्यसलाई जसरी व्यक्तिका नाममा बकस गरेर, गुठीमा परिणत गरेर वा जफत गरिएको भनेर कब्जा गरिएको छ, ती सबै जग्गा नेपाल सरकारमा फिर्ता हुनुपर्छ । ती व्यक्तिहरु कारबाहीको दायरामा आउनुपर्छ ।’

अनुसन्धानले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र उनको परिवारको नाममा २९ रोपनी १५ आना जग्गा रहेको देखिन आएको पनि वज्राचार्यले बताइन् । साथै उनले प्रहरीको अनुसन्धानलाई सरकार र मिडिया सबैको साथ, सहयोग र समर्थन रहेको बताइन् । उनले भनिन्, ‘आजको दिनसम्म त्यस्तो कुनै म्यानुपुलेट हुने वा अप्ठ्यारो पर्ने संकेत पाएकी छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तै सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्