Logo

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस बर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् । आवेदकमध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भए भने यस बर्ष ५० (१.२३%) जना गयल देखिए । यो तथ्याङ्कबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको छ ।

गएको बर्ष ‘ ३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८%) जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले २.८१ देखि ३.२१ ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६%) को २.०१ देखि २.४० आएको थियो । यस बर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।
महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ । यसका लागि हामीले के गर्‍यौँ?

गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्‍यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्‍यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।

९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्‍यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।

विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ ।

प्रतिक्रिया दिनुहोस्