Logo

पत्रकारिता पढिरहेका विद्यार्थीले धमलालाई भनेः ‘तपाईजस्तै पत्रकार बन्न चाहन्छौं

काठमाडौं, १७ साउन । पत्रकार ऋषि धमलाले सामुदायिक विद्यालय सफल भएको खण्डमा मात्रै शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव रहेको बताएका छन् । आज (बुधबार) काठमाडौं महानगरपालिका वडा–६ बौद्ध महाँकालस्थित जनकल्याण माध्यामिक विद्यालयमा आयोजित आम सञ्चार तथा पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षाको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन सामुदायिक विद्यालयमा सुधारको आवश्यकता रहेको बताए ।

‘मलाई विश्वास छ, जो मान्छे सामुदायिक विद्यालयमा पढ्छ त्यो मान्छे सफल हुन्छ । म पनि सामुदायिक विद्यालयमा पढेको हुँ । नेपालको सामुदायिक विद्यालयलाई अगाडि नबढाएसम्म देशको शिक्षा क्षेत्रले प्रगति गर्दैन,’– उनले भने ।

सबैले विनाभेदभाव पढ्न पाउनु पर्ने बताउँदै उनले अहिले शिक्षा विधेयकको बारेमा बहस सुरु भइरहेको बताए । अहिलेको शिक्षा विधेयकले शिक्षा क्षेत्रमा सुधार गर्न नसक्ने उनको भनाई छ ।

जनकल्याण माध्यामिक विद्यालयमा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुलाई उनले अहिले नेपाली पत्रकारिता क्षेत्र संकटग्रस्त रहेको बताए । साथै, आम सञ्चार कुनै राजनीतिक दलको पक्षमा नभएर आम जनताको पक्षमा हुनुपर्ने उनले बताए ।

‘नेपाली पत्रकारितामा आज धेरै समस्या छ, नेपाली पत्रकारिता आज संकटमा छ । मिडिया निश्पक्ष हुनुपर्छ, कुनै राजनीतिक पार्टीको लागि होईन । जनताको लागि हुनुपर्छ । हामीलाई जोसु्कै मन्त्री, प्रधानमन्त्री बनोस् मतलब भएन, जनता खुसी हुनुपर्छ । जनता सफल हुनुपर्छ । हाम्रा जनताहरु पनि सुखी र सम्पन्न हुनुपर्छ,’– उनले भने ।

पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुले ‘हामी तपाईँजस्तो पत्रकार बन्न चाहन्छौं’ भन्दै हुटिङ गरेपछि धमलाले चाहेर पनि कोही मान्छे अर्कोजस्तो बन्न नसक्ने तर उसका राम्रा पक्षको अनुसरण गर्न सक्ने बताए । साथै, विद्यालयका हरेक समस्या समाधानका लागि आफू व्याक–बोन (मेरुदण्ड) का रुपमा उभिने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘चाहेर पनि मान्छे अरुजस्तो बन्न सक्दैन । तर, राम्रो कुरा सबैबाट सिक्नुपर्छ, नराम्रो कुरा परित्याग गर्नुपर्छ । तपाईँहरुमाझ आउँदा मलाई उर्जा मिलेको छ । म मेरो जीवनको अन्तिमसम्म म यो स्कूललाई सम्भिरहने छु । यो स्कूललाई कुनै समस्या पर्यो भने ऋषि धमला ब्याक बोनको रुपमा उभिने छ,’– धमलाले भने ।

आफू नेपाली पत्रकारितामा मजदुरको रुपमा काम गर्दै स्थापित भएको बताउँदै उनले निरन्तर मेहनतबाटै स्थापित हुन सकिने बताए । आफू दर्शक, पाठक र स्रोताहरुकै मायाको कारणले नेपाली पत्रकारितामा स्थापित भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्