Logo

सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने

अनलाइन टिभी नेपाल काठमाडौं, जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ ।

जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षतिको भएको अवस्थामा भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा अहिले बिहान बसेको आकस्मीक बैठकले सो निर्णय गरेको हो ।

बिहान १० बजे गृह मन्त्रालयमा बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व रहेको थियो। शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत घटनास्थलमा पुगिसकेको पनि भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्