Logo

काठमाडाैंबाट डाक्टरसहित ४१ जना स्वास्थ्यकर्मीकाे टोली जाजरकोट र रुकुम पठाइयो

अनलाइन टिभी नेपाल काठमाडौं, सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनका अनुसार, टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११, सशस्त्र प्रहरी अस्पतालबाट आठ र वीर अस्पतालबाट ६ जना चिकित्सक र नर्स छन् । ‘चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ, आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ’ गएराति राति ११ः४७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ ।

प्रतिक्रिया दिनुहोस्