Logo

मैथिली साहित्यको दस्तावेज “शहरक भीडमे एसगर हम”

काठमाडौँ – साहित्यकार माँझ धर्मेन्द्र विह्वलका रुपमा परिचित वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘शहरको भिडमा एक्लो म’ । पत्रकारितामार्फत तीन दशकभन्दा बढी समयदेखि देशलाई निरन्तर सूसुचित गर्दै आएका झा साहित्यमा भने धर्मेन्द्र विह्वलका नामबाट सक्रिय छन् ।

नेपालीसँगै मैथिली साहित्यको पुनरुत्थानमा लागिपरेका विह्वलले साहित्य यात्रा मैथिली कविताको छैठौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृति यसकारण पनि विशेष छ कि यसमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । शहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।

यस कृतिमा कवि विह्वलले कवितामार्फत शहर सपना र शहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा आफैँ भोगेका अनुभव समेटिएको विह्वलले बताए ।

‘मैले पत्रकार र साहित्यकार बन्ने हुटहुटीले शहर बसाइका बीचमा जे भोगेँ, जे देखेँ, त्यही नै कविताका रूपमा उतारेको हुँ’, विह्वलले भने, ‘साहित्य कल्पनामात्रै होइन, यसमा कही न कहीँ वास्तविकताको अंश पनि हुन्छ, यसमा त्यही प्रयुक्त छ ।’

यस कृतिको भूमिकामा नेपाल सङ्गीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर छन् भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’

रमेश रञ्जनले भनेजस्ते विह्वलले साहित्य लेखनमा नौलो प्रयोग पनि गर्दै आएका छन् । यसअघि मैथिली साहित्यको पहिलो तांका सङ्ग्रह प्रकाशन गरेका विह्वलले ‘शहरक भीडमे एसगर हम’ मा पनि नयाँ प्रयोग गरेका छन् । यस कृतिमा मैथिल चित्रकार एससी सुमनको हस्तलिखित चित्र राखिएको छ, त्यो पनि हरेक कवितामा अलग-अलग । आवरणमा पनि उनै सुमनको कला उतारिएको छ । यसमा प्रयोग भएका हरेक चित्र र स्केचमा कुनै सम्पादन नगरिएको विह्वल बताउँछन् ।

मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको यस कृतिको मूल्य ३ सय २० रुपैयाँ राखिएको छ भने भारु दुई सय मूल्य तोकिएको छ । विह्वलले भने,‘लोप हुँदै गएको मैथिली साहित्यको जगेर्ना गर्नु र साहित्यकै माध्यमबाट समाजलाई एड्भोकेसी गर्नु मेरो मुख्य उद्देश्य हो ।’

निकट भविष्यमै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको बताउने विह्वल जीवनभर पत्रकारिता र साहित्य लेखनमा सक्रिय रहने चाहना रहेको बताउँछन् । ‘साहित्य लेखन र पत्रकारिता मेरो जीवनका अभिन्न अंग बनिसके । अब यसबाट विश्राम लिने कल्पना पनि छैन’, उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’

प्रतिक्रिया दिनुहोस्