काठमाण्डू-हेटौँडा सडक: तराई छुने छोटा बाटो किन राजधानी जोड्ने भरपर्दो विकल्प बन्न सक्दैनन्?

288
Shares

राजधानीलाई हेटौँडासँग जोड्ने झन्डै आठ वटा ठूला-साना सडकहरू भए पनि ती कुनै भरपर्दो वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउन सकेका छैनन्।

ती सडक हुँदै काठमाण्डूबाट महेन्द्र राजमार्ग पुग्ने दूरी समेत उल्लेख्य कम रहे पनि दुई राजमार्गका हकमा स्तरोन्नति हुन सकेका छैनन् भने साना मार्गहरू विस्तार गर्न प्राविधिक र व्यवस्थापकीय रूपले कठिन रहेको अधिकारीहरू बताउँछन्।

चल्तीमा रहेका दुई वटा हेटौँडा-काठमाण्डू सडक मर्मत सम्भारका लागि भन्दै मध्य फागुनसम्मका लागि पूर्ण रूपमा बन्द भएका सूचना जारी गरिएका छन्। अर्को एउटा बाटोमा चल्तीकैबीच मर्मत सम्भार भइरहेको छ।

यी तिनवटै सडकको लम्बाई ७५ देखि ८५ किलोमिटरबीच छ। स्तरोन्नतिका लागि रोकिएको तीन महिनापछि पनि त्यस बाटोमा गुड्ने गाडीहरू उही साना कार र माइक्रोबसभन्दा ठूला हुने छैनन्। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्रप्रसाद पुनले अहिले सरकारको ध्यान ती बाटो बाह्रै-मासे चल्न मिल्ने बनाउनेमा मात्र रहेको बताउँछन्।

“इन्टरमिडिअट मापदण्डको बनाउँछौँ। यो एकतर्फी बाटो पनि होइन तर दुईतर्फी समेत भन्न मिल्दैन। आउजाउलाई एउटा गाडी कुना लागेर अर्को कट्न सक्छ,” इन्जिनिअर पुन भन्छन्।

“चौडाइ बढाउने कुरा सोचिएको छैन। किनकि त्यसो गर्दा जग्गाको ठूलो विवाद हुन्छ। पहिल्यै जग्गा छुट्याएर राखिएको सडक पनि होइन यो।”