Logo

अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठामा संलग्न हुने नेपाली पुरोहित के भन्छन्?

अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर “ऐतिहासिक” भएको बताएका छन्।

पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको उनले बताए।

राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेका बेला बीबीसी नेपालीसँगको कुराकानीमा उनले “यो नेपाल र नेपालीका लागि पनि गर्वको कुरा” भएकोमा जोड दिए।
झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत छन्। त्यसै वर्ष अगस्टमा राम मन्दिर निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दा धार्मिक विधिविधान गराउने कार्यमा उनी संलग्न भएका थिए।

बीबीसी नेपालीसँगको टेलिफोन कुराकानीमा गौतमले आफूलाई अहिले निकै सौभाग्यशाली व्यक्ति भएको जस्तो महसुस भइरहेको बताए।

उनले भने, “म सौभाग्यशाली छु किनभने म नेपालमा बसेको, मेरा पूर्वजले पहिले कहिल्यै संस्कृत अध्ययन गरेका थिएनन्। यहाँ भारतमा पनि धेरै ठूला विद्वान्‌हरू हुनुहुन्छ तर ईश्वरको कृपाले म यहाँ पुगेँ।”

“मोदीजीलाई भूमिपूजा गराउँदा मलाई कस्तो भयो होला? पाँच सय वर्षपछि यो मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ र म गराउँदै छु भन्दा म आफैँले आफूलाई बडो सौभाग्यशाली ठान्छु।”

उनले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताए।

यद्यपि उनलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पारे।

उनले भने, “म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन। मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।”

“मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ।”

उनले प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको जानकारी दिए।

“हामीले १५-१५ जनाको समूह बनाएर कसले के गर्ने भन्ने छुट्ट्याएका छौँ,” गौतमले भने।

प्रतिक्रिया दिनुहोस्