बजेटमा सुधारका प्रयासहरुले निरन्तरता नपाएकोमा पूर्व अर्थमन्त्री महतको असन्तुष्टि

864
Shares

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा सुधारका प्रयासहरु आगामि आर्थिक वर्षमा निरन्तरता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा बोल्दै महतले आफू अर्थमन्त्री हुँदा भएका सुधारका प्रयासहरु अहिलेको बजेटले समावेश नगरेको बताए।

स्रोतको व्यवस्थापन, कहाँबाट जुटाउने र कसरी खर्च गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्दै अहिले बढाउनकै लागि करिब एक खर्ब बढी बजेट बढाइएको टिप्पणी गरे।

उनले अहिलेको बजेट चुनौतीहरुको सामना गर्नेतर्फ एउटा कंक्रिट दिशा पक्रिन नसकेको बताएका छन्। उनले भने, ‘अहिलेको बजेट चुनौतीहरुको सामना गर्नेतर्फ एउटा कंक्रिट दिशा पक्रिन सकेको छैन। बजेटरी सिस्टममा अनुशासनको जुन कमी थियो। त्यसमा हामीले रोडम्याप तयार गरेका थियौं। तर त्यो सुधारले निरन्तरता पाएन।’