Logo

पूर्वडीएसपी शर्मालाई दुर्व्यवहार गर्ने दुईजना धरौटीमा छुटे

 

 

काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रसुवाका मिलन लामा भनिने दिलबहादुर गङदान र सिुन्धुपाल्चोकका सागर सिंह योञ्जनलाई धरौटीमा छाड्न आदेश दिएका छन् । अदालतको आदेशअनुसार मिलन ५० हजार रुपैयाँ र सागर ३० हजार धरौटी बुझाएपछि प्रहरी वृत्त गौशालाबाट छुटेको डीएसपी केशव थेबेले बताएका छन् ।ठेक्कापट्टाको काम गर्ने लामाले ९ वैशाखको साँझ पशुपति क्षेत्र विकास कोषमा आउन भन्दै बोलाएर दुर्व्यवहार गरेका थिए । शर्माले प्रहरी कहाँ दिएको जाहेरीमा उल्लेख भएअनुसार उनीहरूले दुर्गा प्रसाईंको विरोधमा किन अभिव्यक्ति दिएको भन्दै लछारपछार गर्दै दुर्व्यवहार गरेका थिए ।

 

पक्राउ परेपछि प्रहरीसँग बयान दिने क्रममा लामाले आफू एक वर्षदेखि दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको सचिवालय सदस्यका रूपमा काम गर्दै आएको भनेका छन् ।पहिले शर्मा आफूहरूसँगै काम गरेको र हौसलासमेत दिने गरेको उनले भने । तर पछिल्लो समय एक अन्तर्वार्तामा प्रसाईंविरुद्ध अभिव्यक्ति दिएकाले भेट्न बोलाएको उनले भनेका छन् । त्यसपछि आफूले दुर्व्यवहार गरेको उनले स्वीकारे ।अर्का आरोपी सागर पनि उनका साथी हुन् । उनले पनि पूर्वडीएसपी शर्मालाई दुर्व्यवहार गर्दा आफू साथमै भएको र मोबाइलबाट भिडियो बनाउनु भनेकाले खिचेको बताए । पछि भिडियो सामाजिक सञ्जालमा नहाल्ने र यसै विषयलाई लिएर कुनै उजुर नगर्ने दुई पक्षबीच मौखिक सहमति भएर निस्किएको उनले दाबी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्