Logo

संसदीय छानबिन विशेष समितिद्वारा औपचारिक रुपमा काम सुरु

काठमाडौं– सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले काम सुरु गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सुर्य थापाले जानकारी दिए ।

सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उनले बताउनुभयो । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थीत गर्दै अघि बढ्ने उनको भनाइ छ । संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका बिषयमा कुनै विवाद नरहेको जिकिर गरे ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिको कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्