Logo

बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै

काठमाडौँ – बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले बताएको छ ।

 

अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिएका छन् । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरका छन् । उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिएका छन् । बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।

साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मंगल थारूले केही शंकास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताएका छन् । प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताएक छन् । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ । नेपालगञ्जमा दिनअघि यहाँको तापक्रम ४४ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्