Logo

केन्द्रदेखि वडातहसम्म विपद्को पूर्वतयारी र व्यवस्थापन गर्न माग

 

राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका छन् । २०७२ सालको भूकम्पका बेला पु¥याएको योगदानबाट शिक्षा लिँदै दलका नेता,कार्यकर्तामा खोज र उद्दारको कर्तव्यबोध तथा स्वयमसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरुलाई प्रयोग गर्नुपर्ने उनीहरुको जोड रहेको थियो।

एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र उनीहरुको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

 

त्यस्तै, भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढंग पु¥याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताउनु भएको छ ।

माओवादी केन्द्रका नेता सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताउनु भएको छ ।

यसैगरी, एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयम सेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत–साधन र दलहरुले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औंल्याउनु भयो।

छलफलमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालिन योजना बनाउँदा पनि दलहरुसँग छलफल गर्न सुझाव दिनु भएको छ ।

दलका प्रतिनिधिहरुको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक होस् या प्राकृतिक विपद्मा एकजुट हुने नेपालका दलहरुको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयम सेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरुको योगदान महत्वपूर्ण हुने अपेक्षा राख्नु भएको छ । दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिनुभएको सुझाव ग्रहण गर्दै मन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन पनि त्यो फोरम प्रभावकारी हुने बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्