Logo

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको निधन

 

मकवानपुरमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान सवा ९ बजे मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।दुर्घटनामा मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र मोटरसाइकल पछाडि सवार ३३ वर्षीया निर्मला अधिकारी घाइते भएका थिए। उनीहरू दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको हो । त्यहाँ उपचारको क्रममा अधिकारीको पौने ११ बजे मृत्यु भएको डिएसपी भण्डारीले बताएका छन् ।

दुर्घटनामा परेको ग ७ प २३०४ न.को मोटरसाइकल हटौंडाबाट चितवनतर्फ जाँदै गरेको थियो। विपरीत दिशाबाट एएस-२५ डिसी ०२१२ नम्बको ग्यास बुलेट गाडी आइरहेको थियो। मोटरसाइकल चालक गुरूङले प्रहरीलाई दिएको जानकारीका अनुसार सेतो रंगको हाइलेक्स गाडीले अचानक ब्रेक लगाउँदा उक्त गाडी पछाडि रहेको उनीहरूको मोटरसाइकलले हाइलक्समा ठक्कर दिएको थियो। त्यसपछि मोटरसाइकल उछिट्टिएर विपरीत दिशाबाट आउँदै गरेको ग्यास बुलेटले ठक्कर दिएर दुर्घटनामा परेको बयान प्रहरीसमक्ष दिएको डिएसपी भण्डारीले बताएका छन् । इलाका प्रहरी कार्यालय मनहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको हो । ग्यास बुलेटका चालक भारत विहार पटियार थाना सदियान बस्ने ३७ वर्षीय मनिन्द्रकुमार दास पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्