Logo

लामिछानेले मौरीपालन गरेर वार्षिक २५ लाखसम्म आम्दानी

पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बितिसकेछ । विसं २०६३ मा १० हजारको लगानीमा दुइटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुन्छ । मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौ। हालसम्म एक करोड बढी लगानी भइसकेको छ । ४२ वर्षीय लामिछानेले भनेका छन् – उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४/२५ लाख जति आम्दानी हुने गरेको छ। उद्योगमा ६ जनाले रोजगारी पाएका छन्। लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन रहेका छन्। कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालन सुरू गरेका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल भएका छन् ।

यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुगेको छ। धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ- उनले भने। कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्‍याउने धौधौ हुन्। मौरीपालन व्यवसायबाट म सन्तुष्ट छ। उद्योगको कामले एकछिन फुर्सद हुँदैन।मौरीसहितको आधुनिक घारको बजार मुल्य दस हजार र घारको मात्र चार हजार तोकिएको उनले बताएका छन् । गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको । किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ- उनले थप भने। मह मात्रै बेचेर वर्षमा ८ देखि दस लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले भनेका छन् । उद्योगबाट प्रतिकिलो रु. एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ रहेको छ। उनका अनुसार उद्योगमा अहिले ३५० घार मौरी रहेका छन्।

 

वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ। मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ रहेको छ। वर्षको दुई याममा मह उत्पादन हुन्छ। उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ।लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन्। स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ रहेको छ। स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उनले बताएका छन् ।

उनी मौरीपालन गर्न चाहाने किसानलाई तालिम पनि दिन्छन्। उत्कृष्ट मौरीपालक किसानका रुपमा उनलाई विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार नगदसहित सम्मानित गरेको थियो। सम्मान ग्रहणका लागि जापान पनि पुगेँ-उनले भनेका छन्। महसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएको थिए । मौरीलाई शरीरमा राखेर पनि उनी बेलाबेलामा चचार्मा आउने गरेका छन् । उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजनाभएको थियो। ‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताएका छन् । महानगरले पनि किसानलाई उनकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको हो। यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ-उनले थप भनेका छन् ।

प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहाने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताएका छन् । उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको । उहाँ मौरीपालन सम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्। प्रमुख कडरियाले भनेका छन् -मौरीपालन व्यवसाय प्रबर्द्धनका गतिविधिमा पनि उनको सक्रियता राम्रो रहेको छ। महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ रहेको छ। आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्