Logo

क्यानभित्रकै सदस्यले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरेको पारस खड्काको आरोप

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आधारहीन वक्तव्यहरूमार्फत आफूहरूलाई बदनाम गराउन खोजिएको बताएका छन् । यस्तो कार्यमा क्यानकै केही सदस्य संलग्न रहेको भन्दै उनीहरुविरुद्ध कानूनी उपचार खोज्ने उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै जानकारी दिएका छन् ।

सन्दीप लामिछानेले विश्वकप खेल्न जान अमेरिकको भिसा नपाउनुमा क्यानलाई दोषी ठहर गर्दै पछिल्ला केही दिनमा पारस र समग्र क्रिकेट संघप्रति टिका टिप्पणी भइरहेको छ । यसैबिच विश्वकपअन्तर्गतका वेस्ट इन्डिजमा हु्ने खेल खेल्न सन्दीप वेस्ट इन्डिज पुगेपछि पासरले समग्र क्यानमाथि भइरहेको बदनामीबारे मुख खोलेका हुन् ।

नेपाल क्रिकेटको अभिभावकीय संस्थाका रूपमा क्यानले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको उनको भनाइ छ । पछिल्लो ९ महिनायता नेपाल क्रिकेटभित्र भएका केही सराहनीय कार्यको फलस्वरुप सिंगो क्यान वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको पारसले दाबी गरेका छन् । उनले लेखेका छन्, ‘संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद हो।’

नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको पारसले बताएका छन् । ‘यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट संन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु,’ उनले लेखेका छन्, ‘यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ ।’

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गर्न उनले समर्थकलाई अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्