Logo

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई ३ लाख जरिवाना सहित ७ वर्ष कैद

 


काठमाडौँ – वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको हो ।जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी हुन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको हो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।

न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन् । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी २०८० असार १० देखि दुई महिनासम्म अनसन बसेकी थिइन् । उनले ०८० माघ १ देखि दोस्रो चरणको अनसन थालेकी थिइन् । सरकारले गाँस, बास, कपास र जिविकोपार्जन सहितको पिडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै हाल अनसनमा छन् ।
सोमबार सजाय निर्धारणको क्रममा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने स्रेस्तेदार शर्माले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्