Logo

चालू आवको १० महिनामा ६ लाख बढीले लिए वैदेशिक रोजगारका लागि श्रम स्विकृति

काठमाडौं– चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ६ लाख भन्दा धेरैले वैदेशिक रोजगारीको लागि स्विकृती लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो दश महिनामा ६ लाख नौ हजार सात सय पाँचजनाले वैदेशिक रोजगारीको अनुमति लिएका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रूपमा नेपाल सरकारबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ । वैशाख मसान्तसम्म तीन लाख ७३ हजार तीन सय सातजना नेपाली पहिलोपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । थप दुई लाख ३६ हजार तीन सय ९८ जना नेपाली भने श्रम स्वीकृत नवीकरण गरेर वैदेशिक रोजगारीमा गएका हुन् ।

गत वर्ष साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ र मंसिरमा ६८ हजार दुई सय एकजना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीको नेपालीको पहिलो रोजाइमा साउदी अरब परेको वैदेशिक रोजगार विभागले जनाएको छ। साउदीपछि धेरे नेपाली कतार पुगेका छन्। त्यसपछि क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, मलेसिया, बहराइन, रोमानिया, जापान र क्रोएसिया वैदेशिक रोगगारीको लागि गन्तव्य बनेको विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्