काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली प्रस्थान गर्दैछन्। ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो पौने २ बजे भारत जान लागेका हुन्।
भारतीय पक्षले तयार पारेको कार्यतालिकाअनुसार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तयारी छ। यद्यपि, कूटनीतिक क्षेत्रका जानकारहरूले स्वागतसम्बन्धी कार्यतालिका अन्तिम समयमा परिवर्तन हुन सक्ने बताएका छन्।
यस भ्रमणलाई प्रधानमन्त्री बालेनको राजकीय भ्रमणका रूपमा लिइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विशेष भेटवार्ता हुने कार्यक्रम छ। दुई नेताबीच ३० मिनेटसम्म ‘वान टु वान’ अर्थात् एक्लाएक्लै वार्ता हुने कार्यतालिका रहेको छ।
उक्त भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, व्यापार, पूर्वाधार विकास, ऊर्जा तथा अन्य साझा चासोका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।
तर, प्रधानमन्त्री शाह र मोदीबीचको ३० मिनेट लामो एक्लाएक्लै वार्तामा कुन–कुन विषयले प्राथमिकता पाउनेछन् भन्नेबारे प्रधानमन्त्री कार्यालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री बनेपछि बालेनको यो भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र आगामी कूटनीतिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

















प्रतिक्रिया