Logo

शनिबारयता तिनाउ नदीमा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा– तिनाउ नदीमा डुबेर सोमबार थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो।

साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खेल्दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए।

खोलामा डुबेका शर्मालाई सँगै गएका तीन जनाले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

शनिबार र आइतबार पनि तिनाउ नदीमै डुबेर एक/एक जनाको मृत्यु भएको थियो । यसअघि आइतबार गोरखपुर थाना सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमारको तिनाउ–३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर मृत्यु भएको थियो। त्यस्तै शनिबार तिनाउ–३ कै झुम्सास्थित तिनाउ खोलामा डुबेर भारत कानपुरका ३५ वर्षीय फहिम अहमदको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्