Logo

४ करोड ठगेको आरोपमा एक जना पक्राउ

 

काठमाडौँ – युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड भन्दा बढी ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई भारतबाट पक्राउ गरेर काठमाडौँमा सार्वजनिक गरेको छ । आरोपीको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । उनीविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ । बैकिङ्ग कसुर र ठगी मुद्दामा प्रहरीले खोज्न थालेपछि उनी पछिल्लो समय भारतमा बस्न थालेका थिए ।

काठमाडौँमा ‘हाई लिंक एजुकेशन कन्सल्टेन्सी छ’ भनेर उनले पीडितहरूबाट रकम असुल्दै आएका थिए । तर, उनले कन्सल्टेन्सी सञ्चालन गरेको नभेटिएको एसएसपी भट्टराईले बताएका छन् । अमेरिका लैजाने लोभ देखाएर उनले पीडितहरूलाई घानासम्म लगेर अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । युरोप सपना देखाएर उनले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म असुलेको भट्टराईले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्