Logo

ढल निर्माणका क्रममा मृत्यु भएका महिलाका परिवार र नगरपालिकाबीच १० बुँदे सहमति

नवलपुर– बर्दघाट सुस्ता पूर्वको कावासोतीको फलफुल चोकमा ढल निर्माणका क्रममा मृत्यु भएका महिलाहरुका आफन्त र नगरपालिकाबीच १० बुँदे सहमति भएको छ ।

कावासोती नगरपालिकाका तर्फबाट उपमेयर फुलकुमारी थनेत र पीडित पक्षले हस्ताक्षर गरेका छन्। मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५÷५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक(एक बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने, घटनास्थलमा मृतकको शिलालेख राख्ने सहमति भएको छ । मृतकका परिवारलाई रोजगारी दिने र रोजगारीको पुस्तान्तरण गर्दै जाने सहमति भएको छ ।

त्यस्तै, पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा–१२ सम्म अध्ययन खर्च (मासिक शुल्क) र स्टेशनरी बापतको खर्च समेत नगरपालिकाले ब्यहोर्ने, मृतकको परिवारको घरको अवस्था अवलोकन गरी कमजोर बासस्थान भएका परिवारलाई आवासको ब्यवस्था गर्ने र शव ब्यवस्थापन गर्दा लाग्ने सबै खर्च नगरपालिकाले व्यहोर्ने लिखित सहमति भएको छ ।

पृथ्वीराजमार्गमा पर्ने फलफुल चोकदेखि पूर्व तर्फको ठुलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने तीन महिला मजदुरको बिहीबार ज्यान गएको थियो । कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । करिब १० फिट गहिरो नाला खन्दा प्राविधिक राखेर सावधानी नपनाइएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

कावासोती बजारमा शशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा र तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्