Logo

बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा सहकारी अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं— सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरुको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले ४३ वर्षका तेजविक्रम थापा, ४४ वर्षकी सजना राजकर्णिकार, ४७ वर्षका सञ्जय सापकोटा र ५३ वर्षका भीमसेन महर्जनलाई पक्राउ गरेको जानकारी दिए ।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् ।

त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताए । ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको आरोप उनीहरुमाथि छ ।

उनका अनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य हुन् । उनी २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष थिए , उनीमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् ।

पक्राउ गर्ने क्रममा उनीहरूबाट मोबाइल ६ थान, पेनड्राइभ ३ थन, हस्ताक्षरसहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फर्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टीभीको परिचय पत्र बरामद भएको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्