Logo

अनैतिक सम्बन्ध नै बन्यो कालः बुहारीले नै गरिन् ससुराको हत्या

काठमाडौं– बैतडीको पाटन नगरपालिका –६ का ५१ वर्षीय वीरभान विष्ट असार १ गते अर्थात् शनिबारदेखि बेपत्ता भए । सोमबार उनको शव पाटन पञ्चेश्वर सडक खण्डको घागा खोलामा फालिएको अवस्थामा फेला पर्यो ।

विष्ट हराएको भनेर परिवारले उजुरी दिएको सात घण्टा नबित्दै प्रहरीले घटनाको संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जसमा पाटन नगरपािलका–६ कै ३६ वर्षीय भागरथी विष्ट र पाटन नगरपालिका–१,का राजेन्द्र भट्टराई र किशोर भट्टराई पक्राउ परेका छन् ।

आरोपित भागरथी विष्ट पेशाले शिक्षिका हुन् भने राजेन्द्र र किशोर विद्यार्थीहरु हुन् । उनीहरुबाहेक थप एक जना पनि हत्यामा संलग्न भएको आशंका गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृत वीरभान र हत्या आरोपी भागरथीबीच नजिकको ससुरा बुहारी हुन्, विरभान भागरथीका कान्छो ससुरा पर्छन् । भागरथीको श्रीमानको १० वर्ष पहिले नै मृत्यु भइसकेको छ भने उनका दुई छोराहरु छन् । वीरभान पनि विवाहित ब्यक्ति हुन्। तर यी दुईबिच अनैतिक सम्बन्ध रहेको खुलेको छ ।

असारको १ गते राति मदिरा सेवन गरेर वीरभान भागरथीको घरमा पुगेका थिए। भागरथीको घरमा पहिलेदेखि नै अर्को पुरुष पनि थिए । भागरथीसँग अर्को पुरुष देखेपछि वीरभान रिसाएको र उनीहरुबिच विवाद सुरु भएको खुलेको छ । विवादका क्रममा वीरभानले भागरथीलाई अपशब्द प्रयोग गर्न थाले । सोहि क्रममा भागरथीले उनको टाउकोमा चिरपटले हानिन् ।

प्रारम्भिक बयानका अनुसार विरभानको मृत्यु भएपछि वीरभानको शवलाई रातभर भागरथीले घरमै राखेको पाइएको प्रहरीले जनाएको छ । हत्यापछि भागरथीले आइतबार दिनभर लगाएर घरको सफा समेत गरेकी थिइन् । शवको व्यवस्थापनको योजना आइतबार नै बनेको थियो ।

शवको व्यवस्थापन गर्न राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवा आइतबार राती भागिरथीको घरमा पुगेका थिए ।

भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडकभन्दा माथि अथवा पाटनको खेतबारीको फाँटको माथि छ। त्यहाँबाट शवलाई प्लाष्टिकमा बेरेर उनीहरुले पाटन–पञ्चेश्वर सडकसम्म पुर्याएका थिए ।

भागरथीको घरदेखि खेतैखेत शव तानेको निसानहरू पनि प्रहरीले संकलन गरिसकेको छ। सडकमा ती युवकहरूले ल्याएको से७प ४४०९ नम्बरको मोटरसाइकलमा शवलाई बीचमा राखेर करिब ५ किलोमिटर पञ्चेश्वतर्फ पुर्याएका थिए । उनीहरुले पञ्चेश्वरको घाङल भीरमा लगेर शव फालेका थिए ।

शनिबारदेखि विरभान बेपत्ता भएको भनेर प्रहरीलाई सोमबार बिहान परिवारले मौखिक रुपमा खबर गरेको थियो । विरभानको भागरथीसँग आउजाउ हुने गरेको र वेपत्ता हुनुमा भागरथीको हात रहेको परिवारले आरोप लगाएको थियो । आरोपित भागरथीलाई प्रहरीले सोमबार बिहान ९ बजे घरबाटै पक्राउ गरेको थियो ।

विरभानको मोबाइल भागरथीसँग फेला परेको थियो । सोपछि विरभानको हत्या गरेको भागरथी आफैँले स्विकार गरेकी थिइन् । उनकै बयानको आधारमा विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो। स्थानीय र प्रहरीले खोजी कार्य गर्दा विष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो।

घटनामा संलग्न २ जना युवाहरू किशोर र राजेन्द्र शव फालिसकेपछि तराई हिँडेका थिए । उनीहरूलाई डडेल्धुराको साहुखर्कबाट प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई मोटरसाइकलमा शव लैजान भागरथीले २० हजार रुपियाँ दिएको प्रारम्भिक बयानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्