Logo

ताप्लेजुङमा अविरल वर्षाले गर्दा बाढीपहिरोबाट ८१ परिवारका ३४२ विस्थापित

 

काठमाडौँ – ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन्। उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताएका छन् । बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेबल पुलसहित चारवटा पुल बाढीले बगाएको छ”, प्रजिअ आचार्यले भनेका छन् । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताएआ छन् ।

पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताएका छन् । उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चार जनाको निधन भएको थियो। पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो । पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् । बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन अविरल वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक डराए राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्