Logo

प्रेम सम्बन्धका कारण आफैँलाई प्रहरी जवानले संसद भवनभित्र गोली हानेको खुलासा

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेम सम्बन्धका कारण आफैँलाई गोली हानेको खुलेको छ । प्रेमिकासँगको सम्बन्ध बिग्रीन थालेपछि आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको हो ।

बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा एक प्रहरी जवान मृत फेला परेका थिए । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले मृत फेला परेका हुन् । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेक थिए ।

घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल प्रहरीले बरामद गरेको छ । घटनास्थलमा भेटिएको मोबाइलमा गोलेले फैंलाई गोली हानेको कुरा पत्ता लागेको छ । प्रेमिकासँग सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । गोलेले करिब ५ महिना अघि प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टपछि प्रेमिकालाई आफ्नै खर्चले विदेश पठाएका थिए ।

उनको प्रेमिका हाल युएईमा छिन् । युएई पुगेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरु बिच विवाद हुन थालेको घटनास्थलमा भेटिएको मोबाइलको म्यासेजबाट पत्ता लागेको छ । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै उनले म्यासेज पठाउने गरेका थिए ।

बुधबार बिहान आत्महत्या गर्नुअघि समेत प्रेमिकालाई ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेका थिए । भिडिओ कल गरेको र आत्महत्या गरेको समय एउटै समय रहेको पाइएको अनुसन्धानमा खटेका एक प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्