Logo

रक्सि खाएर अरुलाई गाली नगर भन्दै सम्झाउँदा हत्या, एक आरोपित पक्राउ

दाङ– दाङको घोराही उपमहानगरपालिका – ८ बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। हत्या आरोपमा सोही गाउँका ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका हुन्।

प्यारी गत जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन्। १८ जेठमा परिवारले प्यारीको हत्या भएको भन्दै जाहेरी दिएको थियो । सोहि दिन नेपालगञ्जस्थित भेरी अस्पतालमा शवको पोष्टमार्टम भएको थियो । पोष्टमर्टम रिपोर्टले घाँटी थिचेर प्यारीको हत्या भएको देखाएपछि प्रहरीले संलग्नहरूको खोजी सुरू गरेको थियो। पीडित परिवारले जेठ १९ गते शव बुझी दाहसंस्कार गरेका थिए ।

प्रहरीले हत्याको बारेमा सोधपुछ गर्न पक्राउ परेका बालारामलाई पनि बोलाएको थियो। सोधपुछकै क्रममा बालारामले प्यारीको हत्या आफूले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए। पक्राउ परेका बालाराम मृतक प्यारीकी आफन्त समेत हुन्।

बालाराम मदिरा सेवनपछि गाउँमा झगडा गर्दै हिँड्ने स्वभावका थिए । प्यारीलाई बालारामले मदिरा सेवन गरेर सधैँ गालीगलौज गर्ने गरेको स्थानीयहरुले बताएका छन् । हत्या भएको दिनपनि उनीहरुको सामान्य विवाद भएको थियो । त्यसदिन प्यारीले बालारामलाई रक्सी खाएर अरूलाई गाली नगर्नू भनी सम्झाउँदै हप्काएको बालारामले प्रहरीलाई बयान दिने क्रममा भनेका छन् । जाँड खाएर अरुलाई गाली गर्दै हिँडेको भनेर गाली गरेपछि प्यारीको हत्या गरेको उनले स्विकार गरेका छन् ।

प्यारीको श्रीमानले दोस्रो विवाह गरेर छुट्टै बस्दै आएका छन् । उनको एउटा छोरा छुट्टिएर बसेका छन् भने उनीसँगै बस्ने अर्को छोरा त्यसदिन काम विशेषले जिल्लाबाहिर गएका थिए। जेठ १७ गते अर्थात् हत्याको दिन प्यारी घरमा एक्लै थिइन्। बालाराम रातको समयमा प्यारीको घर पुगेका थिए। त्यहाँ प्यारीलाई देखेपछि घरको एक कुनामा लगेर घाँटी थिचेर हत्या गरेकी थिए। हत्यापछि उनले प्यारीलाई घिसार्दै उनी सुत्ने ओछ्यानमा पुर्‍याएर सुतेको जसरी राखिदिएका थिए । घटनास्थलमा प्यारीलाई घिसारिएको स्पष्ट संकेतहरू प्रहरीले भेटेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्