Logo

सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गर्ने किर्तिमान नेपालीको पोल्टोमा

काठमाडौं– जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर दुई नेपालीले वर्ल्ड रेकर्ड राखेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात गत जेठ ६ मा सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर अर्थात् १८,५१९ फिट अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर अर्थात १७,८५१ फिटमा डान्स कोरियोग्राफी गरेर रेकर्ड बनाएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् ।

सुसन र सुरेन्द्रले ‘मन मगन’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थियो । यो नृत्य साढे दुई मिनेट लामो छ । उनीहरूलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।

उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गर्दै रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो ।

रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै उनीहरुले नेपालका हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि कीर्तिमानी प्रयास गरेको बताएका छन् ।

यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए । सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्