Logo

मुर्रा राँगा र साँढेको ६ लाख बढी डोज वीर्य संकलन, साउनदेखि किसानले पाउने

काठमाडौं– मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । पशु चौपायामा नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य आगामी साउनदेखि किसानलाई उपलब्ध गराउन लागिएको हो ।

पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा र साँढेको वीर्य संकलन भइरहेको छ । प्रमुख तथा पशु विकास अधिकृत डाजगदीश पाण्डेयका अनुसार ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको छ । अझै दुई पटक वीर्य संकलन गरेर साउनदेखि किसानलाई सिमेन उपलब्ध गराउने उनले जानकारी दिए ।

गतवर्ष ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले नजिकको सरकारी केन्द्रमा पुगेर २५ रुपैयाँ राजस्व तिरेर चौपायालाई कृत्रिम गर्भाधान गराउन सक्ने उनले जानकारी दिए ।

गत वर्ष प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा उपहारस्वरुप १५ वटा मुर्रा भैंसी पाएका थिए । उक्त भैंसी मंसीरमा नेपालमा ल्याइएको थियो । उक्त राँगाको वीर्य पहिलोपटक किसानहरुमा वितरण गर्न लागिएको हो ।

मुर्रा जातका राँगाले नेपाली भैँसीको नश्ल सुधार तथा दूधको उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ । मुर्रा जातका भैँसीले अन्य जातका भैँसीभन्दा बढी दूध दिने बताइएको छ । यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्