Logo

विद्यालयमा भल पसेर पूर्ण क्षति, पठनपाठनमा आबरोध

 

 

काठमाडौँ – गुल्मीमा गए राति भल पसेर गुल्मीको एक विद्यालयमा पूर्ण क्षति पुगेको हो । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ कालीकागाउँ स्थित बालविकास आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ ।

विद्यालय परिसर नजिकै बग्ने खोल्साबाट अनियन्त्रित भएर आएको भलले भौतिक संरचनामा पूर्ण क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक नीता रानाले जानकारी दिएकी छिन् । प्रधानाध्यापक रानाका अनुसार विद्यालय र कक्षा कोठामा पानी र भल पसेको हो । बाढी कक्षा कोठामै पसेपछि विद्यार्थी बसेर पढ्ने वातावरण नभएकाले बुधबार विद्यालय बन्द गरिएको हो । विद्यालयमा निर्माण गरिएका संरचना र विद्यार्थीको सिकाइमा आवश्यक पर्ने शैक्षिक सामग्रीलाई भलले पुरेको हो ।

विद्यालय बन्द गरेरे भल तर्काउने पुरेका सामग्री निकाल्ने काम स्थानीयको सहयोगमा भएको प्रधानाध्यापक रानाले बताएकी छिन् । उनले माटो र ढुंगा सहित गेग्रेटा धेरै भएकाले विद्यालयका टिन र बेञ्च निकाल्न कठिन परेको बताएकी छिन् । पुनः सोही विद्यालयमा भएको क्षतिको व्यवस्थापन गरे पनि यो बर्खायामको समय भएकाले त्यहाँँ विद्यार्थीको पठनपाठनमा थप समस्या देखिएको स्थानीयको भनाइ रहेको छ।

दुई वर्षअघि मोटरबाटो खनिएसँगै गतवर्ष पहिरो खस्दा पनि यस विद्यालयमा केही क्षति पुगेको स्थानीय बताउँछन्। ठूलो पानी परेको समयमा आउने भलले विद्यालयमा पटक – पटक क्षति हुँदै आएको हो । त्यस स्थानमा पुनः विद्यालय सञ्चालन गर्न नसकिने भन्दै अन्य सुरक्षित स्थान खोज्न जरुरी रहेको प्रधानाध्यापक रानाले बताएकी छिन् ।

बालविकास आधारभूत विद्यालयमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन्। गाउँमा जनजातिको बाहुल्यता भएकाले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कुमाल समुदायका छन्। कक्षा कोठामा हिलो पसेकाले डेस्क र बेन्च नै पुरेको चन्द्रकोट–८ का वडाध्यक्ष फणीन्द्रराज अर्यालले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्