Logo

विवाहको बहानामा युवतीलाई चीनमा पुर्‍याएर बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

 

काठमाडौं – विवाहको बहानामा एक युवतीलाई चीन पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राई हुन् । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भएको र चिनियाँ नागरिकसँग बिहे गर्दा भविष्य राम्रो हुने भन्दै उनलाई प्रलोभन दिएर चीन पुर्‍याएको खुलेको छ ।

तर उनले त्यहाँ लगेर पीडितलाई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्