Logo

खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा ५८ वर्षीय शिक्षक पक्राउ

खोटाङ– आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा खोटाङमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक १३ वर्षीय छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार साँझ पक्राउ परेको हो।

प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीयका अनुसार बालिका गर्भवती भएको थाहा पाएपछि प्रहरीमा जानकारी गराइएको हो । सोही जानकारीको आधारमा प्रहरीलाई स्थानीयले सुचना दिएका थिए । हाल महिला सेलका प्रहरीले बालिकाको बयान लिने काम गरिरहेका छन् । प्रहरीको प्रारम्भीक अनुसन्धानमा बालिकामाथी गत फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको खुलेको छ ।

बालिकासँग सोधपुछ गरेसँगै शिक्षकविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। पक्राउ परेका शिक्षकलाई आइतबार म्याद थप गरी थप अनुसन्धान बढाइने जनाइएको छ ।

विद्यालयमा छात्राहरु पूर्ण रुपमा सुरक्षित छैनन् । बेलाबखत आउने यस्तै समाचार यसका उदाहरण हुन् । बालबालिकाहरु आफूमाथि यौन हिंसा भइरहेकै चाँडै बुझ्न सक्दैनन् । उनीहरुले यौन शोषणलाई पनि माया ठानिरहेको हुनसक्छन् । वा कतिपय अवस्थामा किशोरी र साना बच्चाहरु डराउने भएर पनि विद्यालयभित्र हुने यौनहिंसाको बारेमा बोल्न सकिरहेका हुँदैनन् ।

यौन हिंसाबाट सचेत गराउन प्रत्येक विद्यालयमा बालबालिकाहरुलाई यौन शिक्षासहित बेला–बेला मनोपरामर्श दिनुपर्छ । आफ्ना बच्चामा केही समस्या महसुस भए फकाएर, बुझाएर सोध्ने र उनीहरुमाथि विश्वास गर्न अभिभावकलाई मनोविद्हरु सुझाउँछन् ।

प्रतिक्रिया दिनुहोस्