Logo

महोत्तरीका पेशेवर अपराधी जसले गोली हानेर सुन लुटेका थिए

महोत्तरी– महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका–२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।

उनीहरुलाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए । उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

दुबैजना १ प्र २–००९ प २८६१ नं को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । घटनापश्चात आरोपित दुवैजनाले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका–६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।

उनीहरुले गौशाला नगरपालिक–११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि मरहा खोलामा सोमबार साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटनामा महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजना पहिले पनि विभिन्न अपराधमा जेल परेर रिहा भएका हुन् । अन्तिमपटक उनीहरु ०७९ मा सजाय काटेर जेलबाट रिहा भएका थिए ।

शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएका हुन्। सुनिल भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए ।

पक्राउ परेका दुवैजना पेशेवर अपराधी रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुसँगै लुटपाटका विभिन्न अपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्