Logo

पार्टी सभापति नै सर्वेसर्वा नहुने भन्दै रास्वपाका लागि तोसिमा कार्कीद्वारा महाधिवेशन माग

काठमाडौं– रास्वापकी नेता तथा सांसद डा. तोसिमा कार्कीले पार्टीको सभापति नै सर्वेसर्वा नरहेको बताएकी छिन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महामन्त्रीबाट निलम्बन गरिएका नेता मुकुल ढकालले पत्राकारसँग भेटघाट गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न प्रश्न उठाएपछि उनले पार्टी सभापति नै सबैभन्दा शक्तिशालि नरहेको बताएकी हुन् ।

उनले मुकुललाई लक्षित गर्दै भनेकी छिन्, ‘आज उहाँले राख्नुभएका धेरै गुनासा व्यक्तिगत होलान् तर उहाँको संस्थागत चेन अफ कमाण्ड र शक्ति प्रत्यायोजन सम्बन्धिको बुझाई नै गलत रहेछ। वडा‌‌ भन्दा‌ माथी पालिका, पालिका माथी जिल्लामा, जिल्ला माथी प्रदेश, प्रदेश माथी केन्द्रमा यो त ठिक हो तर केन्द्रको सभापति पछि पार्टीमा संयन्त्र हुन्न र जनतामा जानुपर्छ भन्नुभएको सुन्दा लाग्यो उहाँमा लोकतन्त्र पद्दति र साङ्गठनिक संयन्त्रको बुझाईकै कमि रहेछ।’

मुकुलले पार्टीका सभापति नै पार्टीको सर्वेसर्वा र शक्तिशाली पद हुन्छ भन्ने बुझेको र त्यो सत्य नभएको उनले बताएकी छिन् । उनले सभापतिभन्दा माथी केन्द्रीय समिति र त्यो भन्दा महाधिवेशन हुने बताइन् ।

तर यति विषयमा महामन्त्री बनेको व्यक्तिमा पनि स्पष्ट बुझाइ नभएको भन्दै महाधिवेशन आवश्यक रहेको उनले बताएकी छिन् । उनले लेखेकी छिन्, ‘आजसम्म यहि बुझाईको स्पष्टता नेतृत्व तह र स्वयम् मनोनित महामन्त्री तहमा नहुनुले नै पार्टीमा महाअधिवेशनको महत्व, औचित्य र आवश्यकता अवमुल्यन भएको छ।‌ देशका ३८ जिल्ला‌‌ घुमेर‌ बनाईएको महामन्त्री तहको प्रतिवेदनमा समेत महाअधिवेशन गर्नु’गराउनुपर्ने कुरा नसमेटिनु निकै‌ खेदजनक छ।‌ अब पनि हामीले यहि भुल गरिरह्यौँ भने पार्टी थप दुर्घटनामा जान सक्ने जोखिमलाई नकार्न सक्दैनौ।‌ तसर्थ अबको स्पष्ट मार्ग चित्र भनेको विधान अधिवेशन र महाअधिवेशन हो। महाअधिवेशन महाअधिवेशन, महाअधिवेशन।’

प्रतिक्रिया दिनुहोस्