स्वर्णिम वाग्लेको सचिवालय भन्छ, ‘मुकुललाई फोन गरेको हो, धम्की दिएको होइन’
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेको सचिवालयले निष्काशित महामन्त्री मुकुल ढकालको आरोप झुटो भएको दाबी गरेको छ ।
वाग्लेको सचिवालयका अनुसार मुकुलको फोन नउठेपछि उनीनिकटका एक भाइलाई फोन गरिएको थियो । फोनमा मुकुलले बोलेको कुराको जवाफ मागिएको तर धम्की नदिएको वाग्लेको सचिवालयले जनाएको छ ।
महामन्त्रीबाट पदमुक्त भइपछि विक्षिप्त बनेका ढकालले मनलाग्दी बोल्दै हिँडेको वाग्लेका सचिवालयका एक सदस्यले बताए । महामन्त्रीको लागि पुनरावेदन दिने समय हुँदाहुँदै पनि पार्टी नेतृत्वप्रति मिथ्या आरोप लगाउँदै हिँडेको भन्दै उनले दुःख प्रकट गरे ।
रास्वपाका पूर्व महामन्त्री तथा हालका साधारण सदस्य मुकुल ढकालले स्वर्णिम बाग्लेको सचिवालयबाट पटक पटक फोन आएको बताएका थिए । उनले सामाजिक सञ्जालमा आइतबार एक स्टाटस लेख्दै आफूसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन भनेको र इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका थिए ।
शनिबार राति हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा टिकाराम यात्रीसँगको कुराकानीका क्रममा ढकालले रास्वपाका उपसभापति वाग्लेले नेपाललाई भारतीय राज्य बनाउन लागेको दाबी गरेका थिए । उनले रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेको केहि हप्तामा नै भारतीय राजदुतहरुसँग भेटेको बताएका थिए । सो भेटघाटको क्रममा वाग्लेले नेपाललाई भुटान बनाइदिने वा नेपाललाई भारतको राज्य बनाइदिने कुरा गरेको उनले बताएका थिए । आफुले गलत बोलेको भएमा लाइभ डिटेक्सन टेस्ट दिन समेत तयार रहेको मुकुलले बताएका थिए ।