सिमलताल दुर्घटना: चौँथो व्यक्तिको शव सनाखत


नवलपरासी पूर्व — गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर–४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको एन्जल यातायातको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका यात्रु हुन् । उनी भारतीय नागरिक रहेको पनि प्रहरीले जनाएको छ । उनको पर्समा भेटिएको सवारी चालक अनुमतिपत्रबाट सनाखत भएको हो ।
योसँगै सिमलताल दुर्घटनाका चार जनाको सनाखत भएको छ । पाँचवटा शव भेटिएकोमध्ये एउटा शव भने सनाखत हुन बाँकी छ ।

काठमाडौंबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौंतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।