भासिएको सडक र फुटेको राजकुलोको अवलोकनमा पुगिन् तोसिमा, तत्काल काम थाल्न निर्देशन

1.5k
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तथा सांसद डा. तोसिमा कार्कीले ललितपुरको कान्ति लोकपथअन्तर्गत चुनिखेल सडक खण्डको अनुगमन गरेकी छिन् । केही सयमअघि अविरल वर्षाका कारण उक्त सडक खण्डमा सुरुङ जस्तो भ्वाङ परेपछि स्थानीयको गुनासो बढेको थियो । स्थानीयको गुनासो बुझ्न सांसद कार्की दुईपटक उक्त क्षेत्रमा पुगिसकेकी छिन् ।

असार २१ मा आएको अविरल वर्षाका कारण चुनिखेलको भोर्ले राजकुलोसमेत फुटेको थियो । जसकारण स्थानीयको खेतसमेत बगाएको छ भने पहिरोको जोखिम बढेको छ । यस्तै सात महिनाअघि मात्र निर्माण भएको सडकको छेउमा ठूलाठूला चिरा परेर सडक भासिने जोखिम बढेको छ ।

सडक चर्किएको विषयमा वडाका पदाधिकारी र ललितपुर महानगरले चासो नदेखाएको भन्दै सांसद कार्कीलाई अवलोकनका लागि बोलाएको स्थानीयले बताएका छन् । तोसिमाले केहिदिन अघि त्यस क्षेत्रको अवलोकन गरेर राजकुलोको अस्थायी मर्मतका लागि वडाका जनप्रतिनिधिसँग समन्वय गरेकी थिइन् । उक्त क्षेत्रमा हाल अस्थायी मर्मतको काम सुरु भएको छ । स्थायी रुपमा मर्मतका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट परेको र यहि वर्ष स्थायी रुपमा मर्मत हुने भन्दै उनले स्थानीयलाई ढुक्क रहन आग्रह गरेकी छिन् ।

उक्त क्षेत्रको सडक मर्मतको विषयमा वडा अध्यक्ष, सडक विभाग, सिँचाइ विभाग, सडक विस्तार आयोजना, ललितपुर डिभिजन सडक कार्यालयसँग समन्वय गरेको तोसिमाले बताएकी छिन् । । त्यस्तै चुनीखेलकै भोर्ले राजकुलो भत्किएर पहिरो स्थानमा तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उनले बताएकी छिन् ।