चितवनमा रेल मार्गको सर्भे गर्न गएको टोलीलाई नियन्त्रणमा लिएर स्थानीयले गाडीमा गरे आगजनी
चितवन– चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–७ कृष्णपुर पुगेको टोली चढेको गाडी नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।
रेल मार्गको सर्भेका लागि सो स्थानमा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म अध्ययन कार्य भइरहेको छ । सो कार्यका लागि कन्सल्टेन्सीको टोली उक्त स्थान पुगेको थियो । कृष्णनगर पुग्नुअघि भरतपुर–८ मा सर्भेको काम गरिएको थियो । भरतपुर–८ सकेर बुधबार बिहान टोली वडा नम्बर–७ कृष्णपुर पुगेको थियो । कृष्णपुरमा सर्भे गर्ने क्रममा २÷३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।
टोलीलाई नियन्त्रणमा लिएपछि उनीहरु सवार गाडीमा स्थानीयले आगजनी गरेका हुन् । पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुको छ ।