उपसभामुख इन्दिरा रानामगरले ६ जनालाई अमेरिकाको भिसाका लागि समय मिलाउन भन्दै लेखेको पत्र सार्वजनिक, अमेरिका पठाउन बिचौलियाको भुमिका खेलेको आरोप


काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दुतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ । १७ महिना पहिला सन् २०२३ को फेब्रुअरी २६ मा उपप्रमुख रानाले लेखेको उक्त पत्र सार्वजनिक भएको हो ।

पत्रमा उनले आफुसहित ६ जनाको भिसाको अन्तवर्ताका लागि समय उपलब्ध गराउन उनले दुतावासलाई आग्रह गरेकी छिन् । सार्वजनिक पत्रमा दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर लगाएको देख्न सकिन्छ ।

चिठीमा उनीसहित उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा, सुजन घर्ती मगर, धनप्रसाद गुरुङलाई भिसाको अन्तर्वाताका लागि समय मिलाउन भनिएको छ । न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रमका जान लागेको भन्दै उनले भिसा मागेकी थिइन्।

पत्रमा लेखिएको छ, ‘आउँदो ६ मार्च देखि १७ मार्चसम्म आयोजना हुँदैछ । व्यवस्तताका कारण म आफ्नो टीम तथा सांसद र सहयोगीहरू सबैको एकै दिन अन्तर्वार्ताको मिति लिन चाहन्छु । यो कार्यक्रम सबै प्रतिनिधिहरूका लागि एकदमै महत्वपूर्ण छ, जसले महिला सशक्तीकरण विकासमा सुधार गर्न सहयोग पुग्छ । हामी अमेरिकाबाट प्राप्त निमन्त्रणको उच्च सराहना गर्छौं र यथोचित निर्णय हुने आशा गर्छौं ।’

संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख राज्यको उच्च ओहदामा पर्छ । उच्चपदस्थ व्यक्तिहरूले विदेश यात्रा गर्नुपर्दा सरकारी संयन्त्रहरूले नै सबै प्रक्रियाहरू मिलाएर भिसाको पहल परराष्ट्र मन्त्रालयमार्फत गरिन्छ । तर उपसभामुखले भने भिसाका लागि आफैँले पत्र लेखेकी छिन् । उपसभामुखले आफूसँगै लान खोजेका ५ व्यक्तिहरू को हुन् भन्ने पनि हालसम्म खुलेको छैन ।

सो पत्रपछि युवाहरुलाई अमेरिकाको भिसा लगाउने भन्दै उपसभामुख रानाले बिचौलियाको भुमिका खेलेको आरोपसमेत लागेको छ । तर, भिसाको अन्तर्वाताका लागि समय मिलाउन अनुरोध गरिएको पाँचै जनाको भिसा भने नलागेको पाइएको छ । उक्त एनजिओको कार्यक्रममा सहभागि हुन रानामात्र अमेरिका गएको खुलेको छ ।

उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकीथिइन् । २०७९ माघ ७ गते उपसभामुखमा निर्वाचित भएपछि उनले पार्टीको सदस्यता परित्याग गरेकी थिइन् । उपसभामुख भएको एक महिना पछि नै उनले अमेरिकी दूतावासलाई सो पत्र लेखेकी हुन् ।

यो विषय करिब तीन महिना अगाडि रास्वपामा पनि पुगेको थियो । सभापति रवि लामिछाने र तत्कालीन महामन्त्री मुकुल ढकालले सोबारेमा जानकारी पाएपनि उपसभामुखलाई सचेत बनाउनेभन्दा पनि ढाँकछोप गर्ने काममा लागेको रास्वपाको एक सांसदले बताएकी छिन् ।