‘प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित छ’

1.7k
Shares

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धमा परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको ठहर गरेको छ । आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेश भएको उक्त रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको भन्दै संवैधानिक इजलासमा पेश गर्ने आदेश भएको हो ।

‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १७ (२) (क) बमोजिम सम्माननीय प्रधानन्यायाधीशज्यू समक्ष पेश गर्नु,’ आदेशमा भनिएको छ ।

प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत रहेको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको थियो ।