ओखलढुङ्गा– एउटा सिङ्गो जीवनको शृष्टी गर्ने आमालाई पृथ्वी र धरतीसँग तुलना गरिन्छ । भनिन्छ आमाले मात्र सन्तानलाई निःस्वार्थ प्रेम गर्छिन् । आवश्यक परे आफुलाई नै त्यागिदिन्छिन् । तर केही अपवाद आमाले भने आफ्नै सन्तानका ज्यान लिएको पनि उदाहरण छन् ।
ओखलढुङ्गामा एक आमाले आफ्नै दुई महिनाको शिशुको विष खुवाएर हत्या गरेकी छिन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईले आफ्नै २ महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् ।
गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको थियो ।
शिशुको शवसँगै कोक्रो र विषसमेत फेला परेको थियो । सोपछि शिशुको आमा दीप कुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।
बालक जन्मेदेखि रोइरहने, दिक्क लगाउने गरेकाले हत्या गरेको दीप कुमारीले प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले बताए । दीप कुमारीको मृत शिुशबाहेs दुई छोरीहरुसमेत छन् । सुत्केरी अवस्थामा नै घरबाट माइत जानेक्रममा बिच बाटोमा बालकलाई जङ्गलमा विष खुवाएर हत्या गरेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया