Logo

हराएको ४२ वर्षपछि स्थानीयले फिर्ता ल्याए बाह्रौँ शताब्दीमा बनेको नागराजको मूर्ति

काठमाडौं-  बाह्रौँ शताब्दीमा बनेको नागराजको पत्थर मूर्ति हराएको ४२ वर्षपछि पुनस्थापना भएको छ । उक्त मुर्ति काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको थियो ।

उक्त नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकालीले पूजा गरेर सोमबार मूर्तिको पुनः स्थापना गरेका हुन् ।

सो मूर्ति चोरी भएर अमेरिकाको प्राइभेट अक्सनमा पुगेको अवस्थामा नेपालले प्रमाणसहित दाबी गरेर २०७९ मा फिर्ता ल्याएको हो । मुर्ती भेटिएपछि संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । सङ्ग्राहलयमा मूर्ति सुरक्षित राखिएको थाहा पाएपछि विगत एक महिनादेखि स्थानीयले मूर्ति पुरानै स्थानमा फर्काउन अभियान चलाएका थिए । उनीहरुले उक्त मूर्ति शङ्कर कृति महाविहारमा रहेको पुराना फोटो र मूर्ति राख्ने पादपीठसमेत त्यहीँ रहेको प्रमाण सङ्ग्राहलयमा पेश गरेका थिए ।

स्थानीयले मूर्ति विहारमा नै संरक्षण गरेर राख्ने प्रतिवद्धता जनाएपछि वडा र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मूर्ति पुन स्थापना गर्न स्विकृती दिएका थिए । सोपछि सोमबार स्थानीय बाजागाजासहित राष्ट्रिय सङ्ग्रहालयमा मूर्ति लिन पुगेका थिए। उनीहरुले नागराजको मूर्ति सोही स्थानमा साइत अनुसार पूजा–प्रार्थना गरी स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्