लत लगाएको भन्दै २४ वर्षे युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा
काठमाडौं- क्यानडामा एक युवकले सामाजिक सञ्जालको लत लागेको भन्दै मुद्दा दायर गरेका छन् । क्यानडाका मोन्ट्र्यल शहरका २४ वर्षीय युवकले सामाजिक सञ्जालविरुद्ध मुद्दा दायर गरेका हुन् ।
उनले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् ।
क्यानडाको स्थानीय मिडिया सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको हो ।
सामाजिक सञ्जालका माध्यम अत्यधिक लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा ह्रास आएको र निद्रामा असर पुगेको ती युवकले आरोप लगाएका छन् । ती युवकले सन् २०१५ देखि दैनिक चार घण्टा सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् । सामाजिक सञ्जालको प्रयोगले शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ ।
यो मुद्दा अहिले मोन्टरियल सहरमा रहेको एक ‘ल फर्म’ ल्यामबर्ट वकिलहरुले हेरिएको छ गरिरहेको छ । सो मुद्दामा सामाजिक सञ्जालका माध्यम प्रयोगकर्ताको मष्तिष्कलाई डोपामिन उत्पादन गर्न प्रेरित गर्ने गरेको आरोप लगाइएको छ । यसले प्रयोगकर्तामा लत लागेको र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको उनको तर्क छ ।
उक्त मुद्दामा सामाजिक सञ्जालका प्लेटफर्मसँग क्षतिपूर्ति माग गर्नुका साथै कारबाही गर्न समेत अनुरोध गरिएको छ । प्लेटफर्मलाई प्रयोगकर्ता बढीभन्दा बढी समय त्यहाँ बिताउन् भन्ने किसिमले डिजाइन गरिएकाले उनीहरू त्यसैमा निर्भर हुँदै गएको मुद्दामा उल्लेख छ । बालबालिकाहरुले सामाजिक सञ्जालको धेरै प्रयोग गर्ने भएकाले उनीहरुको स्वास्थ्य र सुरक्षाको पनि ध्यान दिनुपर्ने सामाजिक सञ्जालका मालिकहरुको दायित्व हुनुपर्ने बताइएको छ।
यद्यपि यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निश्चित छैन । किनभने यसका लागि न्यायाधीशले प्रमाणीकरण गर्नुपर्छ । न्यायाधीशले यसलाई कसरी विश्लेषण गर्छन् भन्ने विषयले नै यो मुद्दालाई पार लगाउने बताइएको छ ।